माटोमुनि लुकेको २२०० वर्ष पुरानो इतिहास : किचकबधमा नवौँ चरणको उत्खनन सुरु
काठमाडौँ, जेठ २४ । झापाको भद्रपुर नगरपालिका ३ मा अवस्थित ऐतिहासिक एवं पौराणिक स्थल ‘किचकबध’ मा माटोमुनि पुरिएको इतिहासको एउटा अर्को पत्र उघार्ने प्रयास सुरु भएको छ । पुरातत्व विभागको टोलीले विगतका वर्षहरूमा अधुरो रहेका स्थानहरूमा यसै सातादेखि नवौँ चरणको उत्खनन कार्य थालेको हो ।
महाभारतकालीन सम्बन्ध र जनश्रुति
१० बिघा क्षेत्रफलमा फैलिएको यो क्षेत्रलाई महाभारतकालीन इतिहाससँग जोडेर हेर्ने गरिन्छ । जनश्रुति अनुसार, यहाँ विराट राजाका सालो ‘किचक’ को भव्य दरबार थियो । पाँच पाण्डवहरू गुप्तवास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले किचकलाई विराटनगरदेखि लखेट्दै ल्याएर यहीँ वध गरेको विश्वास गरिन्छ । त्यही पौराणिक घटनाका आधारमा यस ठाउँको नाम ‘किचकबध’ रहन गएको स्थानीय बताउँछन् ।
के भेटिएको थियो विगतमा
वि.सं. २०५८ सालदेखि पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा यहाँ उत्खनन हुँदै आएको छ । विगतका आठ चरणका उत्खननहरूले यहाँ केवल दन्त्यकथा मात्र नभएर एउटा विकसित सभ्यता रहेको प्रमाणहरू जुटाएका छन् ।
पुरातत्वविद् आचार्यका अनुसार, यसअघिका उत्खननमा करिब २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, मजबुत पर्खाल र कम्पाउन्डसहितका भौतिक संरचनाहरू फेला परेका छन् । त्यति मात्र होइन, प्राचीन समयमा मानिसले प्रयोग गर्ने भाला, बाण र कलात्मक माटाका भाँडावर्तनहरूले यो स्थल पुरातात्विक हिसाबले कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गरिसकेका छन् ।
संरक्षणमा चुनौती र बजेटको अभाव
ऐतिहासिक गौरव बोकेको यस स्थलको संरक्षण र पूर्ण उत्खननमा भने केही गम्भीर चुनौतीहरू देखिएका छन्। पछिल्लो समय किचकबध क्षेत्रमा मानव निर्मित आधुनिक मन्दिर, पोखरी र अन्य भौतिक संरचनाहरू निर्माण गर्ने क्रम बढेको छ । यसले जमिनमुनि रहेका प्राचीन संरचना र ऐतिहासिक वस्तुहरू नष्ट हुने उच्च जोखिम बढाएको छ ।
पुरातत्वविद् आचार्यका अनुसार पर्याप्त बजेटको अभाव अर्को मुख्य तगारो बनेको छ। “थोरै बजेटका कारण हरेक वर्ष उत्खनन र संरक्षणको कार्य अधुरो छोड्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । जेठ ८ गतेदेखि सुरु भएको यस वर्षको उत्खनन पनि जेठ महिनाभित्रै सक्ने लक्ष्य राखिएको छ ।
किचकबध केवल झापाको एउटा पर्यटकीय स्थल मात्र होइन, यो नेपालको प्राचीन सभ्यताको एउटा जीवित प्रमाण पनि हो । पुरातत्व विभागले आफ्नो तर्फबाट प्रयास जारी राखे पनि यसको पूर्ण संरक्षण र थप अनुसन्धानका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूको पर्याप्त लगानी र ध्यान पुग्न आवश्यक देखिन्छ । आधुनिकताको नाममा प्राचीन वैभवलाई संकटमा पार्नुभन्दा यसको ऐतिहासिकता जोगाएर विश्वसामु चिनाउनु नै आजको आवश्यकता हो ।