स्पाको आवरणमा बालिकालाई अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
काठमाडौँ, जेठ २४ । ललितपुरको सानेपास्थित एक स्पा सेन्टरमा नाबालिकालाई जबर्जस्ती अनैतिक कार्यमा संलग्न गराएको अभियोगमा प्रहरीले सञ्चालिकालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २, सानेपा अरुण थापा चोकमा ‘शुकल्प स्पा एण्ड थेरापी’ सञ्चालन गर्दै आएकी ३१ वर्षीया सुमन कुमाल रहेकी छिन् । गोरखाको सिरानचोक गाउँपालिका ३ स्थायी ठेगाना भएकी कुमाललाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, सञ्चालिका कुमालले आफ्नो स्पामा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभन देखाई सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार अनैतिक कार्य गर्न बाध्य पार्ने गरेकी थिइन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, पक्राउ परेकी कुमालमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ । प्रहरीले उक्त स्पा सेन्टरमा हुने गरेका अन्य शङ्कास्पद गतिविधि र घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।