काठमाडौँलाई मानवीयताको सहर बनाउन कार्यवाहक प्रमुख डंगोल सहयोगापेक्षी सहयोगापेक्षी खोज्दै सडकमा
काठमाडौँ, जेठ २४ । रात छिप्पिँदै जाँदा काठमाडौँका सडकहरू सुनसान प्रायः हुन्छन्, तर केही आँखाहरू भने अझै जागै छन् । कोही भोकले, कोही चिसोले त कोही घरबारविहीनताको पीडाले । काठमाडौँलाई ‘मानवीयताको सहर’ बनाउने संकल्प बोकेकी कार्यवाहक प्रमुख सुनिता डंगोल जेठ २३ गते राति यस्तै आँखाहरूमा आशा जगाउन आफैँ सडकमा ओर्लिनुभयो ।
पछिल्लो समय काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र मानव सेवा आश्रमसँगको सहकार्यमा सडकमा आश्रित बेसहारा, अशक्त र अभिभावकविहीन व्यक्तिहरूको व्यवस्थापनलाई तीव्रता दिएको छ । तर, यो अभियान केवल हटाउने कार्यमा मात्र सीमित छैन, यो त उनीहरूको अवस्था बुझ्ने र आवश्यकता अनुसारको उपचार गर्ने एउटा मानवीय पहल हो ।
सडकको यथार्थ बुझ्दै कार्यवाहक प्रमुख
शनिबार बेलुका कालीमाटी र स्वयम्भूको कारखाना चोक क्षेत्रमा अनौठो दृश्य देखियो। महानगरको नेतृत्व गरिरहेकी डंगोल आफैँ सडकका पेटीमा बसेका सहयोगापेक्षीहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो। कोही बाध्यताले सडकमा पुगेका थिए भने कोहीका लागि माग्नु एउटा ‘पेशा’ बनिसकेको थियो ।
उद्धारका क्रममा डंगोलले भन्नुभयो, “व्यक्ति सडकमा आउनु पछाडि पारिवारिक विग्रहदेखि आर्थिक र मनोवैज्ञानिक कारणहरू जोडिएका छन् । तर, सबै माग्नेहरू असहाय छैनन्। हामी अहिले वास्तविक सहयोगापेक्षी र व्यावसायिक माग्नेहरूबीचको भिन्नता छुट्याउँदै छौँ ।”
कस्तो छ महानगरको योजना
महानगरले स्पष्ट नीति अघि सारेको छ, जसको कोही छैन, उसका लागि महानगर छ। डंगोलका अनुसार जसको हेरचाह गर्ने आफन्त छैनन् र आर्थिक अवस्था शून्य छ, उनीहरूलाई मानव सेवा आश्रममार्फत गाँस, बास र कपासको ग्यारेन्टी गरिनेछ। तर, माग्ने कामलाई पेशा बनाएकाहरूका हकमा भने महानगर कडा हुनेछ। “पेशेवर माग्नेहरूलाई पूर्ण निषेध गरिनेछ र उनीहरूलाई सीपमूलक तालिम दिएर उद्यमी बन्न प्रोत्साहित गरिनेछ,” डंगोलले थप्नुभयो।
तथ्याङ्कमा मानवीय कार्य
महानगरले २०७४ सालदेखि सुरु गरेको यो अभियानले अहिलेसम्म ठुलो प्रभाव पारेको छ। प्राप्त तथ्याङ्क अनुसार अहिलेसम्म २,४२१ जनाको उद्धार गरिएको छ। ८८३ जनालाई सफल रूपमा पारिवारिक पुनर्मिलन गराइएको छ । ५३४ जनालाई सामाजिक पुनस्र्थापना गरिएको छ । हाल आश्रममा ३४४ जनाले आश्रय लिइरहेका छन् ।
पछिल्लो उद्धार कार्यमा स्वयम्भू क्षेत्रबाट १२ जनालाई उद्धार गरिएको थियो, जसमा ६५ वर्षकी वृद्धदेखि १३ वर्षका बालकसम्म थिए । उद्धार गरिएकामध्ये ३ जनालाई भोलिपल्टै परिवारको जिम्मा लगाइएको छ, जसले यो अभियानको प्रभावकारिता पुष्टि गर्दछ ।
‘स्क्रीनिङ सेन्टर’ बाट व्यवस्थापन
महानगरले तिलगंगा क्षेत्रमा ‘स्क्रीनिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रम लैजानुअघि यहाँ राखेर उनीहरूको स्वास्थ्य परीक्षण, काउन्सिलिङ र पारिवारिक अवस्थाको पहिचान गरिन्छ ।
मठ-मन्दिर, आकाशे पुल र पर्यटकीय क्षेत्रमा बिरामीको बहाना गरेर माग्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै काठमाडौँलाई एउटा सभ्य र मानवीय सहर बनाउनु नै यो अभियानको अन्तिम लक्ष्य हो ।
कार्यवाहक प्रमुख डंगोलको यो सक्रियताले एउटा सन्देश दिएको छ, काठमाडौँका सडकहरू अब कसैका लागि पनि असुरक्षित र बाध्यताको ओछ्यान बन्ने छैनन् । महानगरले केवल भौतिक पूर्वाधार मात्र होइन, मानवीय संवेदनामा पनि उत्तिकै ध्यान दिएको यस कदमले जनस्तरबाट प्रशंसा पाइरहेको छ ।