रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, सात घाइते एक बेपत्ता

काठमाडाैं, १ साउन । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।

रुकुम पश्चिमकाे आठबिसकोटस्थित गिजागार खोलामा उर्लिएर आएकाे बाढीले घर बगाएकाे हाे । घर बगेर अन्य सात जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

बाढीले बगाउँदा १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका डिल्ली बहादुर बुढाथोकीको खोजी भइरहेको छ । घाइते सबैको आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।

बाढीले मानवीय क्षति हुनुका साथै अन्य स्थानका केहीघरहरू बगाएका कारण घटनास्थलमा प्रशासनले राहत र उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरेको जनाएकाे छ ।