विराटनगरमा प्रहरीकाे गाडी पल्टिँदा ३० जना घाइते, पाँचको अवस्था गम्भीर

काठमाडाैं, २ साउन । विराटनगरमा प्रहरी बोकेको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन्। भने पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको बा १ ग २५५९ नम्बरको टु टन गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो।

घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीको सचिवालयले जनाएको छ।

उपचारका लागि पठाइएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढी चोट लागेको छ।

सडकमा बालकलाई जोगाउन खोज्दा प्रहरीको गाडी दुर्घटनामा परेको प्रहरी भनाइ छ। सडकको नालामाथि पल्टिएको गाडी डोजरको सहायताले उठाएर हटाइएको प्रदेश प्रहरी कार्यालय, रानीले जनाएको छ।

मोहरम पर्वमा सुरक्षाका लागि थप बलका लागि प्रहरी लिएर रानीतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो। गाडीमा ५४ जना प्रहरी सवार थिए । घाइते हुने अधिकांश प्रहरी जवानहरू रहेका छन् ।