जनताले तिरेको करको दुरुपयोगमा मस्त महानगर

कमिशनको चक्करमा महानगरः केही समय अघि मात्रै राखिएका ब्लक निकाल्दै नयाँ हाल्दै

काठमाडौं, ६ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह बेलाबेलामा चर्चामा आइरहने नाम हो । काम गरेर भन्दा पनि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने मेयर साहको पछिल्लो समय फेरि एक पटक चर्चा सुरु भएको छ ।

न्यूरोड फुटपाथ विस्तार गर्ने हठका कारण अहिले स्थानीय र महानगरबिच द्वन्द्व बढेको छ । मेयर साह वडाका जनप्रतिनिधि, स्थानीय कसैसँग पनि सरसल्लाह र समन्वय नगरी फुटपाथ विस्ताको हठमा लागेपछि त्यहाँ द्वन्द्व बढिरहेको छ । न्युरोड मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अधिकांश सडक मर्मत एवं सम्भारको योजना भन्दै महानगरपालिकाले ठूलो रकमको बजेट छुट्याएको छ ।

अघिल्लो आर्थिक वर्षमा मात्रै महानगर पालिकाले स्वर्णीम योजना अन्तर्रगत सुन्दर महानगर योजना शीर्षकमा फुटपाथ नियमित मर्मत एवं सम्भारका लागि १ अर्ब ५० करोड र आकस्मिक सडक पेटी मर्मत तथा सौन्दर्यीकरणका लागि ३५ करोड विनियोजन गरेको छ । यी दुबैको रकम एक अर्व ८५ करोड हुन्छ । यति धेरै रकम छुट्याएको महानगरको नियत भने सफा नदेखिएको जानकारहरुले बनाउने गरेको छ । यति धेरै रकमका आयोजना निर्माणमा हचुवाका भरमा कुद्नुका भित्र गलत नियत रहेको आशंका गरिएको छ ।

‘सुन्दर काठमाडौं बनाउने योजना सुन्दा सुन्दर छन्,’ महानगर बुझेका एक जानकार भन्नुहुन्छ, ‘गौरवको आयोजना भनेर सुन्दर महानगर अभियान अन्र्तरगत सबै फुटपाथको स्तरोन्नति गर्ने भनेर अघि बढाएको छ । अर्वौको रकम यहि कामका लागि छुट्याइएको छ । तर, काम गर्ने सन्दर्भमा खानेपानी, टेलिकम, विद्यूत प्राधिकरण र स्थानीयसँग कुनै सरसल्लाह नै नगरी र समन्वय नै नगरी तानाशाह र निरंकुश शैलीमा मेयर साह अघि बढेको देखिन्छ । अहिले न्युरोडका सन्दर्भमा पनि भएको त्यति हो ।’
यतिसम्म कि मेयर साहले आफ्नै कार्यकालमा फुटपाथमा छापेका ब्लक समेत अहिले उप्काएर नयाँ ब्लक राख्ने ठेक्दा दिएको भन्दै स्थानीयबाटै गुनासो आउने गरेको छ । स्थानीयहरुले जनताबाट उठाएको राजस्वको यसरी दुरुपयोग भएको भन्दै गुनासो गरेका छन् ।

कार्यपालिका र नगर सभामा समेत कसैका कुरा नसुन्ने र आफ्नै पाराले अघि बढ्ने बालेन शैलीका कारण अहिले कर्मचारी मात्रै होइन महानगर बुझ्नेहरु पनि हैरान भएका छन् । यति ठूलो परिणाम एकै पटक ठेक्कामा दिदाँ त्यहाँ ठेक्कामा पनि चलखेल भएको हुनसक्ने स्रोतको भनाई छ ।

‘एकै पटक सबै फुटपाथ बनाउनु आवश्यक थियो कि थिएन भन्ने कुराले पनि मेयर साहको फुटपाथ विस्तार योजनाले आशंका पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि मेलम्ची खानीपानी र विद्यूत लाइन भूमिगतको काम सूचारु छ । यस्तो अवस्थामा ती संस्थाहरुसँग समन्वय र सहकार्य नै नगरी काम अघि बढाउँदा भविष्यमा दोहोरो खर्च हुने संभावना बढी हुने उहाँको तर्क छ ।’

अहिले बाहिर देख्दा र मेयर साहले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिहरु हेर्दा उहाँ मात्रै ठिक र अरु सबै बेठिक भन्ने भाष्य निर्माण गर्न खोजेको प्रष्ट देखिन्छ । तर, भित्रि रुपमा हेर्ने हो भने ठेक्का–पट्टाका काममा पनि अर्बौको खेल भैरहेको छन् । तर, त्यसतर्फ कसैको ध्यान गएको देखिँदैन । फुटपाथको काम पनि खानेपानी र प्राधिकरणको काम सकिएपछि गर्दा राम्रो हुने हो तर कसैसँग समन्वय नगर्ने र कसैलाई पनि नटेर्ने मेयर साहको बलमिच्याई शैलीले राज्यलाई करोडौं हानी गर्ने निश्चित जस्तै छ ।

खानेपानी र विद्युतको भूमिगत लाईन सकेसम्म फुटपाथबाटै लैजाने र पछि खन्दा पनि सडक खन्न नपर्ने र फुटपाथका ब्लकहरु झिक्दा सहज हुने भन्दै यस अघिको महानगरपालिकाको नेतृत्वले पहल कदमी लिएको थियो । तर, मेयर साहले भने कहाँ–कहाँ खानेपानीको काम भैरहेको छ ? कहाँ–कहाँ विद्यूत भूमिगतको काम भैरहेको छ भन्ने कुराको समेत सामान्य हेक्का नराखी फुटपाथ,फुटपाथ भन्दा निकै ठूलो धनराशी बालुवामा पानी हुने निश्चित भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
साह अघि विद्यासुन्दर शाक्य मेयर रहेका पालामा न्युुरोडमा कलात्मक खालका रेलिङ राख्ने र अनामनगरका केही ठाउँमा फुटपाथ सुन्दर बनाउने कामको सुरुवात भएको थियो । त्यसैगरी चावहिल मित्रपार्क लगायतका स्थानमा पनि मेयर शाक्यकै पालमा फुटपाथ निर्माणको काम अघि बढेको थियो । तर, खानेपानी, टेलिकम, विद्यूत प्राधिकरणलगायतका संस्थासँगको समन्वयमा काम गर्दा ती स्थानमा समस्या नदेखिए पनि त्यसपछि हचुवाका भरमा गरेका काममा भने समस्या देखिएको छ ।
शाक्य मेयर निर्वाचित हुनु अघिसम्म सबै फुटपाथ सडक विभाग अन्र्तरगत नै थिए ।

शाक्य मेयर निर्वाचित भएपछि फुटपाथको स्तरोन्नति गर्ने, मर्ममसम्भार गर्ने भनेर उहाँकै पालामा नीतिगत निर्णय भएको थियो । त्यस अघिसम्म स्तरोन्नति र मर्ममसम्भार गर्न पनि सडक विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था थियो । मेयर शाक्यकै पहलमा नगर सभाको बैठकबाटै स्वीकृत गरेर प्रक्रिया अघि बढाएको थियो र वडाहरुले आफ्नो क्षेत्रका फुटपाथ मर्मत गर्ने भनेर निर्णय भएको थियो । तर, अहिले मेयर साहले भने जनताबाट उठाएको करको रकमलाई दुरुपयोग गर्दै स्वर्णीम योजनाका नाममा भ्रम फैलाउने काम गरिरहेको गुनासो जानकारहरुले गर्ने गरेका छन् ।

अहिले महानगरपालिकाले फुटपाथमा प्रयोग गरेको ब्लक टायल उत्पादन गर्ने फ्याक्ट्रि नेपालमा दुईवटा मात्रै छन् । एउटा मारवाडी समूदायका एक उद्योगी र अर्को जगदम्बाले यस्ता टायल उत्पादन गर्दै आएका छन् । त्यसैले मेयर साहले एकै पटक यति ठूलो मात्रामा अघि बढाएको आयोजनाका पछि ती कम्पनीसँग समेत कमिशनको खेल हुनसक्ने आशंका देखिएको छ ।

फुटपाथको स्तरोन्नतिका नाममा अहिले करीब आधा दर्जन कम्पनीले ठेक्का पाएका छन् । ती ठेकदार कम्पनीसँग पनि लेनदेन हुनसक्ने आशंका देखिएको छ । महानगरमा सफ्वेयरका ठूलो रकमका कामहरु परामर्श लिएर गर्ने भनेर छुट्याइएको स्रोतले दाबी गरेको छ ।

सामाजिक विकास, स्वास्थ्य, मुख्यगरेर सूचना–प्रविधिसँग सम्वन्धित काममा मेयर साहका तर्फबाट सचिवालयले दबाब दिने गरेको पनि गुनासो आउने गरेको छ । कतिपय ठेक्काका काम आफ्ना मान्छेलाई नपार्दा विभागीय प्रमुखहरुलाई नै विभिन्न खालका दबाब दिने, सरुवा गर्ने जस्ता हर्कत पनि महानगरपालिका भित्र हुने गरेको खुलेको छ ।