७५ अंकको वृद्धिपछि नेप्से २५०० विन्दु माथि, १४ अर्ब ११ करोडकाे कारोबार
काठमाडाैं, ८ साउन । नेप्से परिसूचक २५०० विन्दुभन्दा माथि बन्द भएको छ । निरन्तर ६ दिनको वृद्धिपछि नेप्से आज २५०० विन्दुभन्दा माथि पुगेकाे हाे ।
मंगलबार नेप्से परिसूचक ७५.३३ अंक बढेर २५६३.४३ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७८ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब १४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको १ लाख ७१ हजार ३८७ पटकको कारोबारमा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ९७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस अघि १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन पुनः बढेको छ। सो उपसमूहको परिसूचक यस दिन २.३९ प्रतिशत बढेको छ।
यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङ्ग, साहस उर्जा र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, यस दिन हिमालयन उर्जा र युनिभर्सल पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।