मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने रास्वपाको निर्णय

काठमाडौँ, ११ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।

पार्टीकाे मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेकाे हो ।

ढकाललाई रास्वपाले यसअघि दुईपटक स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी सचिवालय र केन्द्रीय समितिकाे बैठकले पत्र पठाएको थियो ।

ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित गर्नसक्ने पत्र पठाएका थिए ।

अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ अडान लिएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।