सुनसरी घटनामा किन बाेलाए प्रजिअसहित सुरक्षा निकायका प्रमुखहरू फिर्ता ? सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौँ, ११ साउन । गृह मन्त्रालयले सुनसरीको देवानगञ्जमा भएको गृह मन्त्रालयलेको घटनालाई लिएर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई तत्काल जिम्मेवारीबाट हटाएर फिर्ता बोलाएको छ । गएराति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको ठहर गर्दै मन्त्रालयले यस्तो कदम चालेको हो ।
मन्त्रालयले सुनसरीका प्रजिअ बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको स्थानमा सङ्खुवासभाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई खटाएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर डिआइजी शेखर खनाललाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको नयाँ प्रहरी प्रमुखका रूपमा पठाइएको छ । यसका साथै, सशस्त्र प्रहरी बल कप्तानगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाउँदै उहाँको ठाउँमा डिएसपी मदन नाथलाई खटाइएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाको पृष्ठभूमि, कारण र सुरक्षा कमजोरीबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई पक्षबीच भएको झडपमा परी २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको थियो । झडप नियन्त्रणमा लिने क्रममा २४ जना घाइते भएका छन्, जसमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् ।
स्थिति थप बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हाल उक्त क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी साम्प्रदायिक सद्भाव कायम राख्ने प्रयास भइरहेको छ ।