वार्षिक कार्ययोजना साउनभित्र र बोलपत्र आह्वान असोजभित्र गरिसक्न कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशन

काठमाडौँ, साउन ११ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको छ। आइतबार सहरी योजना आयोग, विभिन्न विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरूसँग भएको बैठकमा उहाँले वार्षिक कार्ययोजना र खरिद योजना साउनभित्रै स्वीकृत गराउनुका साथै असोज महिनाभित्र सबै बोलपत्र आह्वान गरिसक्न स्पष्ट समयसीमा तोक्नुभएको हो ।

कार्यवाहक प्रमुख डंगोलले योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचामा एक हप्ताभित्र वार्षिक कार्ययोजना तयार गरी पेश गर्न र प्रमुख प्रशासकीय अधिकृत तथा विभागीय प्रमुखबीच हुने सूचकसहितको कार्यसम्पादन सम्झौतालाई साउनभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । वडा कार्यालयहरूबाट प्रदान गरिने सेवालाई चुस्त बनाउन केन्द्रबाट आवश्यक सहायता उपलब्ध गराउनु पर्नेमा जोड दिँदै उहाँले कार्यालय सञ्चालनमा मितव्ययिता अपनाउन र पुराना सामानहरू मर्मत गरेर चलाउन मिल्ने भए तत्काल मर्मत गर्न तथा प्रयोगमा आउन नसक्ने सामानलाई शीघ्र लिलाम प्रक्रियामा लैजान आदेश दिनुभयो ।

बैठकमा उहाँले गत वर्षका असल अभ्यासहरूलाई निरन्तरता दिँदै करको दायरा फराकिलो बनाउन र सहरी योजना आयोगबाट आवश्यक पर्ने प्राविधिक सहयोगका लागि तीन दिनभित्र माग पठाउन विभागीय प्रमुखहरूलाई आग्रह गर्नुभयो । आन्तरिक तथा बाह्य समन्वय र प्रभावकारी सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले वित्तीय अनुशासनमा महानगरलाई अब्बल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगरलाई उत्तरदायी, पारदर्शी र मितव्ययी संस्थाको रूपमा स्थापित गर्न कर्मचारीहरू दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले हरेक योजनाको लक्षित नतिजा प्राप्त हुने गरी कार्यक्रम कार्यान्वयन गर्न विभागीय प्रमुखहरूले मातहतका कर्मचारीलाई मूल्याङ्कन सूचकसहितको कार्यविवरण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र सदस्य डा. सुरज काफ्लले साझा संकल्प र विभागहरूबीचको निकट सम्बन्धबाट मात्रै दिगो नतिजा प्राप्त हुने अपेक्षा राख्नुभयो ।

बैठकले सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि कर्मचारीको आचरण र उपस्थितिलाई कडा निगरानी गर्ने निर्णय गर्दै सबै कर्मचारीले एक हप्ताभित्र स्पष्ट कार्यविवरण प्राप्त गर्ने सुनिश्चितता गरेको छ। कर्मचारीहरू कार्यालय समयभर तोकिएको पोशाकमा उपलब्ध हुनुपर्ने, बाहिर जाँदा लगबुकको प्रयोग गर्नुपर्ने र प्रत्येक हप्ताको शुक्रबार वा कामको चापका आधारमा कुनै एक दिन अनिवार्य रूपमा विभागीय समीक्षा बैठक बसी त्यसको प्रगति विवरण प्रमुखको सचिवालय र प्रशासन विभागमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

बैठक सम्पन्न भएलगत्तै प्रमुखको सचिवालयले सबै विभाग, आयोजना र सचिवालयहरूलाई निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ। यसैगरी, कार्यवाहक प्रमुख डंगोलले आजै सहरी व्यवस्थापन र सूचना प्रविधि विभागका अधिकारीहरूसँग छुट्टै छलफल गरी विभागीय समस्या र समाधानका उपायका विषयमा आवश्यक निर्देशन समेत दिनुभएको छ ।