इकुविरुद्ध मानव बेचबिखनमा पनि अनुसन्धान हुने, अहिलेसम्म चार जनाले दिए जाहेरी
काठमाडौं, २७ भदौ । कलाकार सुलेमान शंकर (इकु)विरुद्ध मानव बेचबिखनमा पनि अनुसन्धान हुने भएकाे छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार इकुविरुद्ध अहिलेसम्म चार जनाले जाहेरी दिएका छन् भने अरू जाहेरी पनि थपिनसक्ने प्रहरीले जनाएकाे छ ।
मंगलबार पक्राउ गरेर अनुसन्धान गर्दा इकुले गैर कलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआईबीका अधिकारीहरु बताउँछन् । तीमध्ये कतिपयसँग पैसा लिएर पनि नपठाएको पाइएको र त्यस्ता व्यक्तिहरुले जाहेरी दिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयाे ।
ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको सीआईबीका अधिकारीहरुले बताएका छन् ।
इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । सीआईबीका निर्देशक तथा एआईजी दीपक थापाका अनुसार अहिले पनि इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको छ साथै करोड भन्दा बढी रकम निरन्तर ट्रान्जेक्सन भएकाे पनि प्रहरीले जनाएकाे छ ।
इकुले एसएमएस फिल्म प्रालि नामक कम्पनीमार्फत युरोपका विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रमको सूची देखाउने र त्यहाँ लगिदिने भन्दै सर्वसाधारणसँग रकम लिएको पाइएको सीआईबीका एसपी प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयाे ।
इकुविरुद्ध अहिलेसम्म चार जनाले सीआईबीमा जाहेरी दिएका छन् भने अन्य चार जनाले भने फोन गरेर आफूहरु पनि ठगिएको जानकारी गराएको तर जाहेरी दिन आइनसकेकाे प्रवक्ता बोगटीले बताउनुभयाे ।
इकुले विदेश जाने आवेदन दिन चाहिने कागजातहरु समेत कीर्ते गरेको प्रमाण सीआईबीले भेटेको छ । गैरकलाकारलाई कलाकार भनेर बनाइएको कागजात, नक्कली बैंक स्टेटमेन्ट, विभिन्न अनुभव तथा तालिमका पत्रहरु समेत नक्कली बनाउने गरेको पाइएको प्रहरीले जनाएकाे छ ।