भदौ २३ को ‘जेनजी’ आन्दोलन सुधन गुरुङको नेतृत्वपछि हुलदङ्गामा परिणत भयो : मानव अधिकार आयोग
काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ (Gen-Z) आन्दोलन हिंसात्मक हुनुमा पूर्वगृहमन्त्री सुधन गुरुङको नेतृत्व मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले शान्तिपूर्ण भनिएको प्रदर्शन गुरुङको प्रवेशपछि योजनावद्ध रूपमा हुलदङ्गामा बदलिएको जनाएको हो ।
आयोगको प्रतिवेदनले गुरुङ र उनको ‘टिओबी’ (TOB) भनिने टोलीको संलग्नतामाथि गम्भीर प्रश्न उठाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको छ ।
प्रतिवेदनअनुसार भदौ २३ गते नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि करिब २० देखि २५ हजारको भिड जम्मा भएको थियो । दिउँसो १२ बजेतिर ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङले भिडको नेतृत्व लिएलगत्तै प्रदर्शनकारीहरू अचानक आक्रोशित बनेका थिए । गुरुङको कमाण्डपछि प्रदर्शनकारीले सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्र प्रवेश गरेसँगै सुरक्षाकर्मीसँग मुठभेड र झडप सुरु भएको आयोगको ठम्याइ छ ।
मुठभेड सुरु हुनुअघि ‘टिओबी’ लेखिएको टिसर्ट लगाएका र शरीरमा सोही नामको ट्याटु खोपेका बाइकर्स समूहले भिडलाई उत्तेजित पारेको प्रतिवेदनमा उल्लेख छ । आफैँमा ‘जेनजी’ पुस्ताको नभएका गुरुङले किन र कसरी यो आन्दोलनको कमाण्ड सम्हाले भन्ने विषयलाई आयोगले शङ्कास्पद मानेको छ ।
शान्तिपूर्ण भनिएको प्रदर्शनमा झडप हुनुपूर्व नै प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयंसेवक र तीनवटा एम्बुलेन्सहरू प्रदर्शनस्थलमा तैनाथ राखिएको पाइएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका गुरुङले प्रदर्शन हुनुअघि नै यस्तो तयारी गर्नुले मुठभेड हुनसक्ने कुराको उनलाई पहिले नै जानकारी रहेको सङ्केत गर्ने आयोगले प्रश्न उठाएको छ ।
आयोगले गुरुङ र उनको टोलीको भूमिकाबारे विस्तृत अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ । झडपपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको प्रतिवेदनमा जनाइएको छ ।