किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौँ, १४ कात्तिक । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ ।
डा गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताउनुभयो ।

“विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाउने छौँ”, उहाँले भन्नुभयो, “विद्यालय बाहिर रहेका किशोरिलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी गरेका छौँ ।”

यसअघि सरकारले सात प्रदेशका एक–एक वटा सङ्घीय अस्पतालमा डेमोष्ट्रेसन (नमूना) का रुपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको खोप शाखाका प्रमुख डा गौतमले उल्लेख गर्नुभयो । सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब रु छ हजार पर्ने जानकारी दिनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ नामक भाइरसको सङ्क्रमण रहेकाले यसको विरुद्ध खोप लगाउनुपर्ने बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *