शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडाैं, ४ मङ्सिर । नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएकाे नेप्से यस दिन ५० अंकभन्दा बढीले घटेर बन्द भएको हो।
यसदिन नेप्से परिसूचक ५१.११ अंक घटेर २७०२.६५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५२ अंक र सेन्सेटिभ इण्डेक्स २.७० अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको १ लाख ५ हजार ८२७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ९.२५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब २५ करोडको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशत घटेको छ।