रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागतअ
महोत्तरी, १८ मङ्सिर । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ ।
भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् ।
मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी हुनुहुन्थ्याे ।
यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको हो । सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ । नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै मटिहानी आइपुगेका हुन् ।
मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ । राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउनुहुन्छ ।
अयोध्याबाट आउनुभएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताउनुभयो । सोमबार रात्रिविश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ ।
जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उहाँका माइती र मिथिलावासीका कुटुम्ब मानिन्छन् । मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ । यसअनुसार मटिहानीवासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन् ।
आज मटिहानीबाट जन्ती जलेश्वर जानेछन् । जलेश्वर नगरवासीको स्वागत ग्रहण गरी जलेश्वरनाथ महादेवको दर्शन गरेर जन्तीलाई आज महोत्तरीकै पिपरामा दिवाभोजन गर्ने तालिका छ । मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन् ।
जन्ती आज नै साँझ जनकपुरधाम पुग्ने जनाइएको छ । त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहनेछन् । सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ ।