कर्णाली याक्सकाे पहिलाे जीत, ६ विकेटले चितवन पराजित

काठमाडौं, २१ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेट पराजित गर्दै पहिलो जीत हासिल गरेकाे छ ।

टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए ।

देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।

सुरुवाती ३ बलमा अर्जुनले लगातार २ रन लिँदै जीतका लागि आवश्यक रन र बल बराबर गरेका थिए । चौथो बलमा अर्जुन रन आउट हुन पुगे । अन्तिम ओभरको पाँचौं बलमा मक्सुदले चौका हान्दै कर्णालीलाई जीततर्फ दोहोर्‍याए ।

बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए । अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।