अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
काठमाडौँ, २४ मङ्सिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालनलगायतका विषयमा छलफल भएको हो ।
अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माका अनुसार नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भएकाे छ । उहाँले अमेरिकी सहयोगमा एमसिसी, युएसएआईडिलगायतका कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे, “अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी)बाट नेपालको निजी क्षेत्रमा पनि लगानी भइरहेकामा त्यसलाई अझ कसरी प्रभावकारी बनाउन र विस्तार गर्न सकिन्छ तथा नेपालमा थप पुँजी कसरी भित्र्याउन सकिन्छ भन्नेबारे उहालेँ चासो देखाउनुभएको छ । यसमा हामीले निजी क्षेत्रबाट लगानीलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाएका छौँ ।”
अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गर्नुभयो ।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी दिनुभयो ।