कार्यवाहक प्रमुख डंगोलको कार्यकालमा महत्वपूर्ण काम : अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालन
काठमाडौँ, असार २४ । काठमाडौँ महानगरपालिकाले उपभोक्ताको खाद्य अधिकार सुरक्षित गर्ने उद्देश्यका साथ आफ्नै अत्याधुनिक ‘खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आज काठमाडौँ प्लाजास्थित महानगरको कार्यालयमा आयोजित एक समारोहका बीच उक्त प्रयोगशालाको समुद्घाटन गर्नुभयो ।
महानगरको कृषि तथा पशुपन्छी विभागअन्तर्गत सञ्चालन हुने यस प्रयोगशालामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खाद्य वस्तुमा हुने हानिकारक सूक्ष्मजीवहरूको परीक्षण गरिनेछ । प्रयोगशालामा विशेषगरी इसेरिसिया कोलाई (इकोलाई), साल्मोनेला, स्टाफिलोकोकस ओरियस, कुल प्लेट गणना (टीपीसी), र फिकल कोलिफर्म जस्ता रोगजनक जीवाणुहरूको वैज्ञानिक परीक्षण हुने महानगरले जनाएको छ ।
प्रयोगशालाको शुभारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले अब बजार अनुगमनका क्रममा भेटिने कैफियतहरूलाई अनुमानका भरमा नभई वैज्ञानिक तथ्यका आधारमा वर्गीकरण गरिने बताउनुभयो । ‘अब बजार नियमन र कानुनी कारबाही तथ्यमा आधारित हुनेछ ।’ उहाँले भन्नुभयो, ‘हामीले व्यवसायीहरूलाई तालिम र सचेतना दिँदै आएका छौँ, तर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने र गैरकानुनी आचरण देखाउनेलाई अब प्रयोगशालाको प्रमाणका आधारमा कडा कारबाही गरिनेछ ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रयोगशाला स्थापनासँगै महानगरले खाद्य स्वच्छताका सम्बन्धमा छिटो र भरपर्दो निर्णय लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, खाद्य स्वच्छता विज्ञ सल्लाहकार जीवनप्रभा लामाले यसलाई स्थानीय तहको महत्त्वपूर्ण उपलब्धिको रूपमा चित्रण गर्दै खाद्य सुरक्षाका सबै स्तम्भमा महानगरले काम गरिरहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय स्तरको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ तयार पारी सञ्चालनमा ल्याइएको यस प्रयोगशालालाई आगामी दिनमा ‘एक्रिटेसन’ (मान्यता) दिलाउने लक्ष्य राखिएको छ । यसअघि महानगरले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशाला मार्फत अनुगमन गर्दै आएको थियो । आफ्नै स्थायी प्रयोगशाला सञ्चालनमा आएपछि अब काठमाडौँको खाद्य बजार थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ ।