ध्रुवे हात्तीको आतङ्क र सुरक्षाको खोजी : बस्ती जोगाउन चौबीसै घण्टा निगरानी
काठमाडौँ, असार २४ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा वर्षौँदेखि एउटा नामले त्रास फैलाइरहेको छ ‘ध्रुवे’ । कहिले शान्त देखिने त कहिले निकै आक्रामक बन्ने यो जङ्गली हात्तीका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले ठुलो जनधनको क्षति व्यहोर्दै आएका छन् । पछिल्लो पटक असार २० गते भरतपुर महानगरपालिका २३ बेलहट्टामा घटेको कारुणिक घटनाले सो क्षेत्रलाई पुनः शोक र त्रासको वातावरणमा धकेलिदिएको छ ।
माडी नगरपालिका १ घर भई हाल बेलहट्टा बस्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको ध्रुवेकै आक्रमणबाट ज्यान गएपछि अहिले प्रशासन र सरकारमाथि सुरक्षाको दबाब बढेको छ । एउटै परिवारका आमाछोराको अकल्पनीय मृत्युले मानव–वन्यजन्तु द्वन्द्वको भयावह रूपलाई फेरि सतहमा ल्याइदिएको छ ।
सरकारी सक्रियता र चौबीसै घण्टा अनुगमन
यो दुःखद घटनापछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले ध्रुवे हात्तीलाई नियन्त्रण र व्यवस्थापन गर्न विशेष पहल सुरु गरेको छ । मन्त्री गीता चौधरीको प्रत्यक्ष निर्देशनमा अहिले निकुञ्जका कर्मचारी, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीलाई मैदानमा उतारिएको छ ।
ध्रुवेको गतिविधि अब केवल अनुमानमा सीमित हुने छैन । मन्त्रालयका अनुसार प्राविधिक टोलीले हात्तीको चौबीसै घण्टा निगरानी गरिरहेको छ । यदि हात्ती निकुञ्जभित्रको उपयुक्त र सुरक्षित स्थानमा फेला परेमा उसलाई ‘डार्ट’ (बेहोस) बनाएर ‘रेडियो कलर’ जडान गर्ने तयारी गरिएको छ । रेडियो कलर जडान भएपछि हात्ती कुन दिशामा जाँदैछ र कुन बस्तीको नजिक पुग्यो भन्ने जानकारी प्रविधिमार्फत तत्काल प्राप्त हुनेछ । यसले गर्दा हात्ती बस्ती छिर्नुअघि नै स्थानीयलाई सचेत गराउन सकिने अपेक्षा गरिएको छ ।
राहतले नमेटिने घाउ, तर राज्यको साथ
मानवीय क्षतिको पूर्ति पैसाले हुन सक्दैन, तर पीडित परिवारको जीविकोपार्जन र घाउमा मलम लगाउन राज्यले तदारुकता देखाएको छ । मन्त्री चौधरीका अनुसार घटनाको तीन दिनभित्रै मृतकका परिवारलाई जनही १० लाख रुपियाँका दरले २० लाख रुपियाँ राहत उपलब्ध गराइएको छ ।
यति मात्र होइन, राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट थप एक लाख रुपियाँ (जनही ५० हजार रुपियाँ) समेत प्रदान गरिएको छ । राज्यले तत्काल राहत उपलब्ध गराएर पीडित परिवारप्रति आफ्नो दायित्व बोध गरेको सन्देश दिएको छ ।
सजगता र सहकार्यको खाँचो
ध्रुवे जस्ता जंगली हात्तीको आक्रमणबाट बच्न प्राविधिक तयारी मात्र पर्याप्त छैन । मन्त्री चौधरीले मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुको आवागमन र सम्भावित जोखिमका बारेमा समयमै सूचना पुर्याउन संयन्त्र निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
वन र मानवबीचको यो पुरानो द्वन्द्वलाई प्रविधिको प्रयोग र स्थानीयको सजगताले मात्र न्यूनीकरण गर्न सकिन्छ । रेडियो कलर जडान र निरन्तरको निगरानीले ध्रुवेको आतङ्कलाई मत्थर पार्ने र भविष्यमा यस्ता हृदयविदारक घटना दोहोरिन नदिने विश्वास लिइएको छ । चितवनवासीका लागि अबको रातहरू त्रासमा होइन, सुरक्षाको प्रत्याभूतिमा बित्नुपर्ने खाँचो टड्कारो देखिएको छ ।