महिला यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

काठमाडौं, १ पुस । यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा भेट्टायाे । नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । बलिङमा पनि उनले दुई विकेट लिइन् ।

पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ५ विकेट क्षतिमा १०४ रन जोडेको थियो । पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालकी पूजा महतोले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिइन् ।

यस्तै रचना कुमारी चौधरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट, रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर एक विकेट र सिमाना केसीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेको थियो । नेपालकी ओपनर सावित्री धामी ८ रनमा आउट भइन् भने साना प्रविन १० रनमा आउट भइन् ।

त्यसपछि पूजा र उपकप्तान सोनी पाख्रिनले नेपालको स्कोर अगाडि बढाएका थिए । यी दुईले ३१ रनको साझेदारी गर्दै नेपाललाई ५९ रनसम्म पुर्‍याए । सोनी १३ रनमा रनआउट भइन् ।

६६ रनमा चार विकेट गुमाएपछि पाँचौं विकेटका लागि पूजा र सिमाना केसीबीच अविजित साझेदारी भयो । उनीहरुले नेपाललाई जितसम्म दोहोर्‍याए । पूजाले ४७ बलमा ४७ रन तथा सिमानाले १२ बलमा १२ रन बनाए ।

पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएकाे थियो । यस खेलसंगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्ने छ ।