प्रधानमन्त्री ओली र युएइका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो ।