गिद्ध संरक्षणमा नेपाल दक्षिण एसियाकै पहिलो सफल मुलुक

अर्घाखाँची, १ असोज । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्किन थालेका छन्। संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको सङ्ख्या घट्ने क्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ।

९० को दशकमा भएको विनाश
सन् १९९० को दशकमा दक्षिण एसियामा गिद्धको सङ्ख्या अस्वाभाविक रूपमा घट्न थालेको थियो। नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा ठूलो सङ्ख्यामा गिद्ध मरेका भेटिएपछि यसको कारण खोज्ने क्रममा पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टि भएको थियो।

डाइक्लोफेनेक प्रयोग गरिएको गाईबस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब दुई दिनभित्रै मृत्यु हुने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो। त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या हरेक वर्ष २० देखि ५० प्रतिशतसम्म घटेको थियो। दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसङ्कटापन्न, एक सङ्कटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए।

गिद्धको सङ्ख्या तीव्र रूपमा घटेपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाएका थिए भने बङ्गलादेशले सन् २०१० मा प्रतिबन्ध लगाएको थियो। त्यससँगै जटायु रेस्टुरेन्टजस्ता सुरक्षित आहार कार्यक्रम, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरणले पनि गिद्ध संरक्षणमा थप टेवा पुर्‍याएको हो।

१२.७ प्रतिशतको वार्षिक वृद्धिदर
गिद्ध विज्ञ कृष्णप्रसाद भुसालका अनुसार हालै प्रकाशित अनुसन्धानमूलक वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डङ्गर गिद्धको सङ्ख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको छ। अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको सङ्ख्या औसतमा प्रतिवर्ष १२.७ प्रतिशतका दरले वृद्धि भएको छ। आइयुसिएन गिद्ध विशेषज्ञ समूह एसियाका सहअध्यक्षसमेत रहेका भुसालका अनुसार यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको छ।

सडकमार्गमा नियमित गिद्ध गणना र गुँडको निगरानीका आधारमा यस्तो निष्कर्ष निकालिएको हो। भुसालका अनुसार गिद्धको सङ्ख्या घटिरहेको अवस्थालाई रोक्दै पुनःवृद्धि हुने अवस्थामा पुर्‍याउने नेपाल पहिलो मुलुक बनेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा अध्ययनका सहलेखक वेदकुमार ढकालका अनुसार कुल ७० वटा डङ्गर गिद्धलाई स्याटेलाइट ट्याग लगाएर गरिएको अनुगमनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब ९४.७ प्रतिशत र अल्पवयस्क गिद्धको बाँच्ने दर ९५.५ प्रतिशत रहेको पाइएको छ।

प्रजनन् सफलता पनि उच्च
गिद्धको सङ्ख्या बढ्नुमा बाँच्ने दर मात्रै नभई प्रजनन् सफलताले पनि महत्वपूर्ण भूमिका खेलेको अनुसन्धानले देखाएको छ। नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अङ्कित विलाश जोशीका अनुसार सन् २००७ देखि २०२५ सम्म छ हजार ४१० वटा गुँडको अनुगमन गरिएकामा औसतमा करिब ६९ प्रतिशत गुँड सफल भएको छ। विशेषगरी सन् २०१३ देखि २०२५ सम्मको गिद्ध पुनरुत्थान अवधिमा प्रजनन् सफलतामा सुधार देखिएको छ।

भारतबाट आएर होइन, स्वदेशी वृद्धि
नेपालमा गिद्धको सङ्ख्या तीव्र रूपमा बढेपछि भारतबाट ठूलो सङ्ख्यामा गिद्ध प्रवेश गरेकाले सङ्ख्या बढेको हो कि भन्ने प्रश्न पनि उठेको थियो। स्याटेलाइट ट्याग लगाइएका गिद्ध नेपाल र भारतबीच आवतजावत गर्ने गरेको प्रमाण भेटिए पनि नयाँ अध्ययनले भारतबाट आएका गिद्ध नै नेपालको सङ्ख्या वृद्धिको मुख्य कारण नभएको देखाएको छ।

वैज्ञानिकले विभिन्न गणितीय मोडल प्रयोग गरी गरेको विश्लेषणमा सडक सर्वेक्षणबाट देखिएको गिद्धको वृद्धि र गिद्धको जन्म तथा बाँच्ने दरका आधारमा अपेक्षित वृद्धि लगभग मिल्दोजुल्दो पाइएको थियो। त्यसैले नेपालमा गिद्धको सङ्ख्या बढ्नुको मुख्य कारण नेपालमै जन्मिएका र बाँचिरहेका गिद्धको राम्रो अवस्था नै रहेको देखिएको छ। जटायु रेस्टुरेन्टले महत्वपूर्ण भूमिका खेले पनि देशभर गिद्धको सङ्ख्या बढ्नुका कारण त्यसलाई मात्रै मान्न नसकिने अध्ययनले देखाएको छ, किनभने जटायु रेस्टुरेन्ट आसपासका क्षेत्रमा मात्र नभई देशका अन्य क्षेत्रमा पनि वृद्धि देखिएको छ।

सङ्कट पूर्णतः टरेको छैन
गिद्ध संरक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गरे पनि गिद्ध सङ्कटबाट पूर्ण रूपमा बाहिर आइसकेको अवस्था भने छैन। नेपाल पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार अहिले गिद्धको सङ्ख्या बढिरहेको भए पनि सन् १९९० को दशकमा ठूलो गिरावट आउनुअघिको अवस्थाको तुलनामा सङ्ख्या अझै निकै कम छ।

वैज्ञानिकहरूले हालै प्रतिबन्ध लगाइएका एसिक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेनजस्ता औषधि बजारमा उपलब्ध भए–नभएको नियमित अनुगमन गरी प्रयोग रोक्नुपर्ने र भविष्यमा नयाँ पशु औषधि बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्ने असरबारे परीक्षण गर्नुपर्ने सुझाव दिएका छन्। गिद्ध प्रकृतिको महत्वपूर्ण सफाइकर्मी मानिने र सिनो खाएर वातावरण सफा राख्ने भएकाले यसको संरक्षण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनसँग पनि जोडिएको छ। प्रेमनारायण आचार्य/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *