यसपालि दशैंमा खाद्य कम्पनीबाट सहुलियत दरमा खसीबोका नपाइने

काठमाडौँ, १ असाेज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।

सरकारी स्वामित्वको खाद्य कम्पनीले हरेक वर्ष दशैं चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको थियो। तर यस वर्ष बजेट अभावका कारण खसीबोका खरिद र बिक्री नगर्ने निर्णय गरिएको हो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन। बजेट नभएपछि खसीबोका खरिद प्रक्रिया अघि नबढाइएको उनले जानकारी दिए।

“अघिल्ला वर्षहरूको दशैंका लागि खाद्यले सुपथ मूल्यमा आफैं खसीबोका बिक्री गर्दै आएको थियो। यस वर्ष भने बिक्री नगर्ने निर्णय भएको छ। यस शीर्षकमा यो वर्ष बजेट नै विनियोजन गरिएको छैन,” मिश्रले भने।

खाद्य कम्पनीले बजार मूल्यलाई नियन्त्रण र सन्तुलनमा राख्न हरेक वर्ष दशैंको समयमा उपत्यकामा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो। यस वर्ष भने कम्पनीबाट सहुलियतको खसीबोका नपाइने भएको छ।

सुपथ मूल्य पसलमार्फत सेवा जारी
यसपालिको चाडपर्व लक्षित गरेर खाद्यले सुपथ मूल्यको पसल मात्रै सञ्चालनमा ल्याएको छ। कम्पनीले भदौ २८ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ। ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो।

सूचना अधिकारी मिश्रका अनुसार सुपथ मूल्य पसलबाट कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसहित स्थानीय बाली चिनो, कागुनो, फापर, सिमीलगायतका खाद्यवस्तु बिक्री गर्दै आएको छ। सुपथ मूल्य पसलमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा पाँच रुपैयाँ छुटको व्यवस्था गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *