नेप्सेमा सामान्य अंककाे वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडाैं, ६ माघ । नेप्से परिसूचकमा सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
आइतबार नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब ९३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १ हजार ६३९ रुपैयाँ बढेर १८ हजार २९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १६४ रुपैयाँ घटेर १ हजार ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशत बढेको छ।