कञ्चनपुरमा आगलागीबाट उखुबारीमा तीन लाख बढीको क्षति
कञ्चनपुर, २० माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ मा आगलागी हुँदा एक किसानको उखुबारीमा तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
बमनुराम रानाको दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको हो। स्थानीय वडाध्यक्ष नवलसिंह रानाका अनुसार छिमेकी मोतिराम रानाले आफ्नो बारीमा उखुका पात जलाउने क्रममा बमनुरामको बारीमा आगो सल्किएको थियो। हावा चलिरहेको बेलामा पात जलाउँदा आगो नियन्त्रण बाहिर गएको थियो।
पीडित बमनुरामले पाँच सय क्विन्टल उखु जलेर नष्ट भएको बताए। उनले भने, “मैले समूहबाट ऋण लिएर उखु रोपेको थिएँ, सबै जलेर सखाप भयो।” उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको भए पनि आगलागीका कारण क्षति व्यहोर्नुपरेको उनको भनाइ छ।
आगलागीको खबर पाएपछि स्थानीयले आगो निभाएका थिए। अन्य किसानको उखु भने आगोबाट जोगिएको छ।