उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेट

काठमाडौँ, १ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्ति मन्त्री सीआर पाटिलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारत पुगेका मन्त्री खड्का र पाटिलबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चाँडो सकेर आयोजना अघि बढाउने सहमति भएको छ।

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीका अनुसार टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको छ र महाकाली सन्धिअनुसार पानी छाड्न सञ्चालन कार्यविधि चाँडै टुङ्ग्याउने सहमति भएको छ।

बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरबारे पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ।

मन्त्री खड्काले गत नोभेम्बरमा भएको भेटले जलस्रोतको क्षेत्रमा सहकार्य गर्न थप हौसला मिलेको बताए। पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन भारत सरकार सकारात्मक रहेको बताए। भेटमा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता थियो।