एम्बाप्पेमाथिको आलोचना ‘अति’ भयो, उनी पनि मानिस हुन्: ओस्मान डेम्बेले
पेरिस, फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेले राष्ट्रिय टोलीका कप्तान किलियन एम्बाप्पेको कडा बचाउ गरेका छन्। एम्बाप्पेमाथि भइरहेको आलोचनाको शृङ्खला ‘अति’ भएको भन्दै उनले यसलाई अन्यायपूर्ण बताएका हुन्।
सन् २०२३ मा फ्रान्सको कप्तानी सम्हालेयता र विशेष गरी यस सिजन रियल म्याड्रिडले कुनै पनि उपाधि जित्न नसकेपछि स्पेन र फ्रान्स दुवै देशमा एम्बाप्पे तीव्र आलोचनाको घेरामा छन्।
स्पेनी पत्रिका ‘मार्का’सँग कुरा गर्दै डेम्बेलेले भने, “उनीमाथि भइरहेको आलोचना धेरै नै अन्यायपूर्ण छ। केही मानिसहरूले त सिमा नै नाघिसकेका छन्। उनी एक उत्कृष्ट खेलाडी मात्र होइनन्, मैदानबाहिर पनि निकै असल मानिस हुन्।”
डेम्बेलेले एम्बाप्पेको नाम र ख्यातिकै कारण उनलाई तारो बनाइएको गुनासो गरे। “उनले जुत्ताको तुना बाँधे पनि वा मोजा माथि सारे पनि मानिसहरूले प्रश्न उठाउँछन्। यो अलि बढी नै भयो। आखिर उनी पनि त एक मानव हुन्। फ्रान्सेली टोलीका लागि उनी एक प्रभावशाली कप्तान र प्रेरणादायी नेता हुन्,” डेम्बेलेले थपे।
यस वर्षको ‘ब्यालोन डी’ओर’का मुख्य दावेदार मानिएका डेम्बेलेले पेरिस सेन्ट-जर्मेन (PSG) लाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। एम्बाप्पे भने सन् २०२४ मा पीएसजी छाडेर रियल म्याड्रिड पुगेका थिए।
आगामी विश्वकपको तयारीमा रहेको फ्रान्सले मंगलबार सेनेगलसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ। समूह चरणमा फ्रान्सले इराक र नर्वेको सामना गर्ने तालिका छ। उक्त खेलहरूमा एम्बाप्पे र डेम्बेले दुवैले अग्रपङ्क्ति सम्हाल्ने अपेक्षा गरिएको छ।
डेम्बेलेले प्रशिक्षक डिडियर देसच्याम्प्सको पनि खुलेर प्रशंसा गरे। एक दशकभन्दा बढी समयदेखि टोली सम्हाल्दै आएका देसच्याम्प्सले विश्वकपपछि पद त्याग गर्ने घोषणा गरिसकेका छन्। डेम्बेलेले उनलाई ‘लेजेन्ड’ प्रशिक्षकको संज्ञा दिएका छन्। देसच्याम्प्सकै नेतृत्वमा फ्रान्सले २०१८ को विश्वकप जितेको थियो भने २०२२ मा फाइनलसम्मको यात्रा तय गरेको थियो।
प्रशिक्षक देसच्याम्प्सको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका जिनेदिन जिदानबारे सोधिएको प्रश्नमा डेम्बेलेले सकारात्मक जवाफ दिए। उनले भने, “हामी कुनै दिन जिदानलाई फ्रान्सको बेन्च (प्रशिक्षक) मा स्वागत गर्ने आशा गर्दछौँ। म विश्वस्त छु कि उनले टोलीमा उत्कृष्ट काम गर्नेछन्।”
५३ वर्षीय जिदानले यसअघि रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताएर इतिहास रचेका थिए। यद्यपि, देसच्याम्प्स पदमा रहँदासम्म उनले यसबारे खुलेर कुरा गर्न अस्वीकार गर्दै आएका छन्।