घरेलु मैदानमा क्यानडा बराबरीमा रोकियो, बोस्नियासँग बाँड्यो अङ्क

काठमाडौँ, ३० जेठ । फिफा विश्वकप फुटबल–२०२६ को समूह ‘बी’ को पहिलो खेलमा आयोजक राष्ट्र क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा बुधबार भएको रोमाञ्चक भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो ।

विश्वकपको समग्रमा तेस्रो खेल रहेको यस प्रतिस्पर्धामा दुवै टोलीले समान १–१ अङ्क जोडेका छन् । खेलमा पहिलो अग्रता भने पाहुना टोली बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा बोस्नियाले सोही अग्रतालाई कायम राख्न सफल भयो ।

तर, दोस्रो हाफमा घरेलु दर्शकको समर्थन पाएको क्यानडाले खेलमा दबाब बढाउँदै पुनरागमन गर्‍यो । खेलको ७८औँ मिनेटमा क्यानडाका काइल लारिनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो ।

विश्वकप अन्तर्गत आजै अर्को महत्वपूर्ण खेल हुँदैछ । समूह ‘डी’ को पहिलो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार आज साँझ ६ः४५ बजे सुरु हुने कार्यसूची रहेको छ ।