साँखुकाे सलम्बुटारमा सञ्चालित आश्रयस्थलमा टिपर छिर्याे, तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, २३ फागुन । काठमाडौंको शंखरापुर नगरपालिका-६, सलम्बुटारमा रहेको एक आश्रयस्थलमा आज बिहान टिपर छिरेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सलम्बुटारस्थित द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस) द्वारा सञ्चालित आश्रयस्थलमा बा २ क ६५८० नम्बरको टिपर सडकबाट अनियन्त्रित भई बिहान ३:४० बजे आश्रयस्थलको टहरामा पसेको थियो ।

दुर्घटनामा दुईजना नाबालक र एकजना वृद्धको घटनास्थलमै मृत्यु भएको आश्रयस्थलका संस्थापक अध्यक्ष युवराज थापाले जानकारी दिए।

प्रहरीका अनुसार मृतक र घाइतेहरुलाई नेपाल मेडिकल कलेज, अत्तरखेल जोरपाटी पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले बिहान ४:३३ बजे उनीहरुलाई मृत घोषणा गरेका थिए।आश्रयस्थलमा ६१ जना आश्रित छन्। तीमध्ये १० जना सुतिरहेको टहरामा टिपर पसेको थियो ।

टिपर चालक, सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।