दरौँदी नदीमा बगेर एक मलामी बेपत्ता

गोरखा, १ साउन । गोरखाको दरौँदी नदीमा मलामी गएका एक व्यक्ति बगेर बेपत्ता भएका छन्।

अजिरकोट गाउँपालिका–४ स्थित तालफुटे घाटमा मलामी गएका स्थानीय झ्याँवाका ४० वर्षीय शमशेर नेपाली नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

बिहीबार दिउँसो करिब १ः०० बजे नदीमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। खोजी कार्यका लागि स्थानीय बासिन्दा र प्रहरी टोली परिचालन गरिएको छ।