निजी क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्वमार्फत मानवीयतामा आधारित सहर कार्यक्रममा जोड्दै कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ, साउन १ । काठमाडौँको सडकमा बेसहारा भेटिएका ती आँखाहरूमा अब एउटा नयाँ सपना र आशाको किरण देखिन थालेको छ । ‘कोही पनि भोको र नाङ्गो सडकमा बस्नु नपरोस्’ भन्ने ‘मानवीयताको सहर’ निर्माण गर्ने काठमाडौँ महानगरको अभियानमा निजी क्षेत्रले पनि आफ्नो दरिलो हात थपेको छ ।
यसै सन्दर्भमा, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले आफ्नो ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत ४० लाख रुपैयाँको एउटा ठूलो लगानी मानवीय सेवामा गर्ने घोषणा गरेको छ । यो रकमले सडकबाट उद्धार गरिएका बालबालिकाको हातमा कलम र कापी मात्र पुर्याउने छैन, बरु अस्वस्थ र असहाय नागरिकहरूको शरीरमा औषधिको ओत पनि दिनेछ ।
शिक्षा र स्वास्थ्यको ‘मिश्रित प्याकेज’
सम्झौता अनुसार कुल ४० लाखमध्ये २७ लाख रुपैयाँ मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षाका लागि खर्च गरिनेछ । बाँकी १३ लाख रुपैयाँ भने सडकबाट उद्धार गरिएका असहाय नागरिकहरूको उपचार र औषधिका लागि छुट्याइएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको उपस्थितिमा शुक्रबार एक भव्य समारोहका बीच यो त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भयो । महानगरको सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौला, आइडीपीका कन्ट्री डाइरेक्टर कविर खड्गी र आश्रमका अध्यक्ष रामजी अधिकारीले यो मानवीय अभियानको दस्तावेजमा हस्ताक्षर गर्दा हलमा एउटा फरक ऊर्जा देखिएको थियो ।
पहिलो किस्तामै २१ लाख हस्तान्तरण
सम्झौता हुनु मात्र ठूलो कुरा थिएन, कामको तत्काल थालनीका लागि आइडीपीका डाइरेक्टर खड्गीले २१ लाख २० हजार रुपैयाँको चेक आश्रमलाई हस्तान्तरण गर्नुभयो । ‘हामी पहिलो वर्षको नतिजा हेर्नेछौँ र यसको प्रभावकारी कार्यान्वयन भएमा यो सहयोगलाई भविष्यमा पनि निरन्तरता दिनेछौँ ।’ खड्गीले भन्नुभयो ।
१५५ बालबालिकाको भविष्य र ५०५ को स्वास्थ्य सुरक्षा
अहिले मानव सेवा आश्रमले बुटवल, हेटौँडा र गोरखामा बाल गृहहरू चलाइरहेको छ । त्यहाँ कुल १५५ बालबालिका छन्, जसमध्ये १२० जना विद्यालय जाने उमेरका छन् । यो सहयोगले उनीहरूको स्कुल फी, ड्रेस र शैक्षिक सामग्रीको चिन्ता सदाका लागि टार्नेछ। बाँकी ३५ जना विशेष क्षमता (बौद्धिक अपाङ्गता) भएका बालबालिकाको स्याहारमा पनि यसले टेवा पुर्याउनेछ ।
त्यस्तै, स्वास्थ्यतर्फको १३ लाखले काठमाडौँका विभिन्न ७ वटा शाखाहरूमा आश्रित ५०५ जना नागरिकको उपचार गर्ने लक्ष्य राखिएको छ। रानीबन, सामाखुशी, ललितपुर र भक्तपुरका केन्द्रहरूमा रहेका यीमध्ये धेरैजसो मानसिक समस्या, दीर्घ रोग र वृद्धावस्थाका समस्याले थलिएका छन् ।
‘हामी निमित्त मात्र हौँ’
सम्झौताको अवसरमा भावुक हुँदै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भन्नुभयो, ‘हामी त केवल एउटा माध्यम हौँ । यो सहयोगको वास्तविक हकदार सडकका ती बालबालिका र बेसहारा नागरिकहरू हुन् । हामी यसको एकएक पैसा उनीहरूकै हितमा खर्च गर्नेछौँ ।”
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी क्षेत्रको यो सहभागिताले काठमाडौँलाई मानवीयताको केन्द्र बनाउन ठूलो बल पुग्ने विश्वास व्यक्त गर्नुभयो। महानगरले यस कार्यक्रमको सूक्ष्म निगरानी गर्ने जिम्मा लिएको छ, ताकि सहयोग वास्तविक लक्षित वर्गसम्म पुगोस् ।
निजी क्षेत्रको व्यावसायिक उचाइ र सामाजिक सेवाको यो संगमले काठमाडौँका सडकहरू अब बिस्तारै ‘बेसहाराविहीन’ र ‘मानवीयताले भरिएका’ हुने आशा जगाएको छ ।