साउने सङ्क्रान्ति: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, १ साउन । साउन महिनाको सुरुआत भएसँगै आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको चाप बढेको छ।

साउने सङ्क्रान्तिका दिन बिहान झरी परिरहे तापनि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको लामो लाइन लागेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले जानकारी दिनुभयो। साउन महिनालाई भगवान् शिवको उपासना गर्ने विशेष महिना मानिने भएकाले यस अवधिमा पशुपतिनाथलगायतका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गर्दछन्।

यस अवसरमा मन्दिर परिसरमा हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। साउन महिनाभर दर्शनार्थीलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन कोषले आवश्यक तयारी अघि बढाएको छ। यसै सन्दर्भमा आज महिनाभर खटिने स्वयंसेवकहरूसँग छलफल एवं बैठकको आयोजना गरिएको कोषले जनाएको छ।

पशुपतिनाथका अतिरिक्त काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायतका अन्य शिवालयहरूमा पनि बिहानैदेखि दर्शनार्थीहरूको लामो लर्को लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *