वैदेशिक अध्ययनमा ६४ अर्ब १५ करोड विदेशियो, सेवा खातामा भारी घाटा

काठमाडौँ, २७ फागुन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले ठूलो रकम बाहिर लगेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, शिक्षा क्षेत्रमा मात्रै ६४ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको हाे ।

राष्ट्र बैंकको विवरण अनुसार, सेवा खाता अन्तर्गत भ्रमण खर्च १०.६ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षामा मात्रै ६४ अर्ब १५ करोड खर्च भएको हो । गत वर्षको यही अवधिमा भ्रमण खर्च १ खर्ब ४ अर्ब ७५ करोड रहेकोमा शिक्षामा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो ।

यस अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा यो घाटा ३६ अर्ब ३८ करोड रुपैयाँ थियो ।

यद्यपि, समीक्षा अवधिमा भ्रमण आय ७.७ प्रतिशतले बढेर ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो । शिक्षा क्षेत्रमा विदेशिने ठूलो रकमले देशको सेवा खातामा भारी घाटा देखिएको छ।