रोल्पा पहिरो अपडेट: प्युठानका नदी किनारमा भेटिएका ५ शवको सनाखत, सबै थबाङका बेपत्ता
प्युठान, २८ साउन । प्युठानका माडी र लुङ्ग्री खोला किनारमा फेला परेका पाँचवटा शव रोल्पाको थबाङमा गएको विनाशकारी पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको रहेको पुष्टि भएको छ। बिहीबार बिहान विभिन्न स्थानमा भेटिएका ती शवहरूको आफन्तले पहिचान (सनाखत) गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–५ कोतलाबाङमा बुधबार राति गएको पहिरोले बगाएका व्यक्तिहरूलाई खोलाले बगाएर प्युठानसम्म पुर्याएको हो। रोल्पामा पहिरो गएको स्थानबाट बगेका ती शवहरू प्युठानका माडी र लुङ्ग्री खोलाका विभिन्न किनारमा अड्किएको अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार सनाखत भएका मृतकहरूमा थबाङ गाउँपालिका–५ कोतलाबाङका देहायका व्यक्तिहरू रहेका छन्:
१. अशोक पुन मगर (७ वर्ष)
२. महेन्द्र घर्ती (३४ वर्ष)
३. मनी पुन मगर (६६ वर्ष)
४. विष्णु पुन मगर (३४ वर्ष)
५. बलबहादुर पुन मगर (८० वर्ष)
बिहीबार बिहान स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा, स्वर्गद्वारी–३ किमिचौर र स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा तीनवटा शव फेला परेका थिए। यस्तै, स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोला र माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा थप एक–एकवटा शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका पाँचै जनाको शवलाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा राखिएको छ। “आफन्तहरूले शवको पहिचान गरिसक्नुभएको छ,” डीएसपी अधिकारीले भन्नुभयो, “पोस्टमार्टम प्रक्रिया पूरा भएलगत्तै शवहरू परिवारको जिम्मा लगाइनेछ।”
रोल्पाको कोतलाबाङमा गएको सो पहिरोमा अझै केही व्यक्तिहरू बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य रोल्पा र प्युठान दुवै जिल्लाका सुरक्षाकर्मीहरूले जारी राखेका छन्।