नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु

काठमाडौँ, १७ चैत । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सिछुआन–नेपाल व्यापार आदानप्रदान महिनाको सुरुवात भएको छ। यो महिनाभर चल्ने कार्यक्रम चीनको छेन्दुमा सिछुआन शृङ्खलाको रूपमा सुरु भएको हो।

सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा गत शुक्रबार छेन्दुमा व्यापार आदानप्रदान सिछुआन शृङ्खलाको थालनी भएको हो।

कार्यक्रममा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन प्रान्तबीचको सम्बन्ध बलियो बन्दै गएको बताए। उनले पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको टोली र सिछुवान विमान कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छेन्दु उडान थालेपछि दुई पक्षीय सम्बन्ध थप प्रगाढ भएको बताए।

छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार पछिल्लो एक वर्षमा चीन र नेपालबीच सामाजिक तथा सांस्कृतिक आदानप्रदान पनि बढेको छ।

चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको पुरानो सम्बन्धलाई व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ बलियो बनाउने बताए।

महिनाभर चल्ने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न शहरहरूमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। यसले नेपाल र चीनबीचको सांस्कृतिक, व्यापारिक, आर्थिक र जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास महावाणिज्य दूतावासले जनाएको छ।