नेप्सेमा लगातार चौथो दिन पनि गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १० वैशाख । साताको पहिलो कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि गिरावट जारी रह्यो । यो साता नेप्से घटेको लगातार चौथो दिन हो ।

बुधबार नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.८६ अंक, फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अंकले घटेको छ ।

बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ३०८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भयो । यो मंगलबारको (८ अर्ब ३२ करोड) तुलनामा कम हो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ । म्युचुअल फण्ड उपसमूह ०.२१ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह ०.३९ अंकले बढेका छन् । बाँकी सबै उपसमूहहरू – विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, बैंकिङ्ग, लघुवित्त र अन्य – को परिसूचक घटेको छ ।

बजार समग्रमा घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो । अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.०६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ५८ करोड १९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।