साफ यु१९ खेल्ने नेपाली युवा टिम घोषित

काठमाडौँ, १४ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार यु १९ साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

भारतको अरुणाञ्चल प्रदेशमा मे ९ देखि १८ सम्म साफ यु–१९ च्याम्पियनसिपमा हुँदैछ । गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु–२० को नाममा प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा बङगलादेशले घरेलु टिम नेपाललाई हराएर उपाधि जितेको थियो ।

साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् । नेपाल समूह बीमा आयोजक भारत र श्रीलङ्कासँग रहेको छ । समूह एमा गत विजेता बङगलादेश, भुटान र माल्दिभस रहेका छन् ।
यसपालि पाकिस्तानले सहभागिता जनाएको छैन । समूह चरणमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल खेल्न योग्य हुनेछन् । नेपाली यु१९ टिमको प्रशिक्षकमा उजन श्रेष्ठ हुनुहुन्छ ।

नेपाली युवा टिम
गोलरक्षक – भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ
डिफेन्डर – रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुसाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का
मिडफिल्डर – कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का
फरवार्ड – पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ ।