कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
काठमाडौँ, २८ असार । नेपाली चलचित्र क्षेत्रकी चर्चित निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर (मस्तिष्कको ट्युमर) को सफल शल्यक्रिया गरिएको छ। उनलाई ब्रेन ट्युमर भएको र हालै काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सफल शल्यक्रिया सम्पन्न भएको कलाकार दीपकराज गिरीले जानकारी दिएका हुन्।
चलचित्रको सुटिङ चलिरहेकै समयमा दीपाश्रीको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। “दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि सुरुमा हामी निकै अन्योलमा पर्यौँ र तुरुन्त शल्यक्रिया गर्नुपर्ने भयो। धेरै ठाउँबाट भारत लैजाने सल्लाह पनि प्राप्त भएको थियो,” कलाकार गिरीले भने, “तर अन्त्यमा हामीले नेपालकै अनुभवी चिकित्सक डा. वसन्त पन्तद्वारा शल्यक्रिया गराउने निर्णय गर्यौँ।”
अन्नपूर्ण न्यूरो अस्पतालमा डा. पन्तको टोलीले दीपाश्रीको मस्तिस्कको शल्यक्रिया गरेको हो। शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल उनलाई सघन उपचार कक्ष (आईसीयू) बाट साधारण वार्ड (जनरल वार्ड) मा सारेर आराम गराइएको छ।
दीपाश्रीको स्वास्थ्य अवस्था हाल स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।