बालेन्द्र शाह नेतृत्वको सरकार जुन बाटो र शैलीबाट आएको हो, दसैँसम्म त्यसै गरी जान्छ : दुर्गा प्रसाईँ

काठमाडौँ, २८ असार । राजावादी अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन्। झापाबाट काठमाडौँ आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक रूपमा बोल्न नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा पुर्‍याएपछि प्रसाईँले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले सरकार जुन बाटो र शैलीबाट आएको हो, त्यसै गरी बिदा हुने चेतावनी दिए। “दसैँसम्म हेर तिमीहरू, दसैँसम्म टिकाओ। जुन बाटो आएका थियौ, त्यही बाटो जान्छौ। जुन तरिकाले आगोको लप्का थियो, त्यही तरिकाले तिमीहरू जाँदैछौ। अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हौ,” उनले आक्रोश पोखे।

प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार प्रविधिको ‘अल्गोरिदम’ कब्जा गरेर फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाए। “मुलुकमा बोल्नै नहुने अवस्था सिर्जना गरिएको छ। तर अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ र हाम्रो अभियानले सार्थकता पाउँछ,” उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *