राप्ती नदीमा बेपत्ता भएका दुई बालबालिकामध्ये एकको शव फेला : बालिकाको खोजी जारी
काठमाडौँ, असार २८ । बाँकेको राप्ती नदीस्थित कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक बालकको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दिनुभएको जानकारी अनुसार डुडुवा गाउँपालिका ५ निवासी ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया बालिका खुशी सिजापति भने अझै बेपत्ता रहनुभएको छ । उहाँको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सक्रियताका साथ कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो करिब ४ बजे घरबाट निस्किएका दुवै बालबालिका अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । उनीहरू नदीमा डुबेको विषयमा भैँसी गोठालाहरूले शनिबार राति मात्रै परिवारका सदस्यहरूलाई जानकारी गराएका थिए । गोठालाहरूबाट सूचना प्राप्त भएलगत्तै सुरक्षा निकायलाई खबर गरिएको र खोजी कार्यलाई तीव्र पारिएको थियो ।
सुरक्षाकर्मीको टोलीले बेपत्ता बालिकाको खोजीका लागि सम्भावित सबै स्थानहरूमा अपरेसन जारी राखेको छ ।