सगरमाथा संवादमा १७५ विदेशी पाहुनासहित, ३५० जना सहभागी हुने
काठमाडौँ, ३० वैशाख । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुनासहित करिब ३५० जना सहभागी हुने भएका छन्।
परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले आज काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार संवादमा १२ देशका उच्च तहका प्रतिनिधिमण्डलको सहभागिता रहनेछ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ मुख्य विषय रहेको पहिलो संस्करणको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको मन्त्री डा. राणाले बताउनुभयो। “हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा. राणाले स्वागत मन्तव्य दिनुहुने कार्यक्रम छ। संवाद सचिवालयका अनुसार कार्यक्रममा भारत र चीनका प्रतिनिधि, कोप–२९ का अध्यक्षका जलवायु प्रतिनिधिले सम्बोधन गर्नुहुनेछ भने संयुक्त राष्ट्रसङ्घका महासचिवको श्रव्यदृश्य सन्देश पनि प्रस्तुत गरिनेछ।
उद्घाटनपछि १२ छुट्टाछुट्टै विषयमा छलफल हुने र यसले जलवायु परिवर्तन तथा पर्वतीय समस्या समाधानमा योगदान पुग्ने विश्वास लिइएको छ। संवादमा विभिन्न मुलुक, सार्क, बिम्स्टेक, विश्व बैङ्क, एसियाली विकास बैङ्क लगायत ६१ विदेशी तथा स्वदेशी सङ्घसंस्थाको सहभागिता रहनेछ।