मङ्गलादेवी सिंह शतवार्षिकी : काठमाडौँ महानगर वडा नं. १७ द्वारा दौड प्रतियोगिता सम्पन्न
काठमाडौँ, असार ७ । काठमाडौँ महानगरपालिका वडा नं. १७ ले मङ्गलादेवी सिंहको शतवार्षिकी जन्म जयन्तीको अवसरमा शनिवार विभिन्न उमेर समूहमा वडास्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ। खेलकुदका माध्यमबाट स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा ९४ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितालाई तीनवटा उमेर समूहमा वर्गीकरण गरिएको थियो। १० देखि १६ वर्ष उमेर समूहका लागि १ किलोमिटरको दुरी तय गरिएको थियो भने १७ देखि ३९ वर्ष र ४० वर्षमाथि (भेट्रान) समूहका लागि ४ किलोमिटरको दुरी निर्धारण गरिएको थियो।
प्रतियोगिताको नतिजा र पुरस्कार
१०-१६ वर्ष उमेर समूहको पुरुषतर्फ लुजा महर्जन प्रथम, स्वयम मगैया द्वितीय र अञ्जुस शाही तृतीय हुनुभयो। सोही समूहको महिलातर्फ परी शाही, गरिमा महर्जन र सृष्टि महर्जनले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो। यस समूहका विजेताहरूलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरियो।
त्यसैगरी, १७-३९ वर्ष उमेर समूहको पुरुषतर्फ निश्चलरत्न बज्राचार्य, अजित देउला र साजलराज जोशी तथा महिलातर्फ गनिशा महर्जन, प्राची मगैया र प्रीना खड्गी विजेता बन्नुभयो। ४० वर्षमाथिको भेट्रान समूहमा महिलातर्फ लक्की थापा, ज्ञानी महर्जन र सरस्वती महर्जन तथा पुरुषतर्फ साजन बस्नेत, विकेश श्रेष्ठ र अमनकुमार तुलाधरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभयो। यी दुवै समूहका प्रथम, द्वितीय र तृतीय विजेतालाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कार वितरण समारोहमा बोल्दै नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सकारात्मक समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो।
वडाध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले वडाबासीको अपेक्षाअनुसार पूर्वाधार विकाससँगै सामाजिक र खेलकुदका गतिविधिहरूलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले स्वस्थ समाज निर्माणको लक्ष्य प्राप्तिका लागि यस्ता विधागत खेल कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।