स्पेनको गोल वर्षा, साउदी अरेबियामाथि ४–० को शानदार जित

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा साउदी अरेबियालाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।

अमेरिकाको एटलान्टा स्टेडियममा आइतवार राति सम्पन्न खेलमा स्पेनका लागि युवा स्टार लामिन यामालले एक तथा मिकेल ओयार्जाबालले दुई गोल गरे। अर्को गोल साउदी अरेबियाका डिफेन्डर हसन अलताम्बाक्तीको आत्मघाती गोलका रूपमा आयो।

खेलको १०औँ मिनेटमा यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसपछि २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल गर्दै ओयार्जाबालले स्पेनको अग्रता ३–० मा पुर्‍याए। पहिलो हाफमै तीन गोलको स्पष्ट अग्रता बनाएको स्पेनले दोस्रो हाफमा पनि दबाब कायम राख्यो।

४९औँ मिनेटमा मार्क कुकुरेल्लाको प्रहारलाई गोलरक्षक मोहम्मद अलओवैसले रोके पनि रिबाउन्ड भएको बल क्लियर गर्ने क्रममा हसन अलताम्बाक्तीबाट आत्मघाती गोल हुन पुगेपछि स्पेनले ४–० को सहज जित सुनिश्चित गर्‍यो।

यस जितसँगै स्पेनले समूह चरणको अन्तिम खेलअघि नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। अब उरुग्वेविरुद्धको अन्तिम खेलमा एक अंक जोड्न सके स्पेन अन्तिम ३२ मा स्थान बनाउन सफल हुनेछ। पराजित साउदी अरेबियाले भने आफ्नो आगामी खेलमा काबो भेर्डेसँग प्रतिस्पर्धा गर्नेछ।

यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका स्पेनका मिकेल ओयार्जाबाल ‘मिशेलोब अल्ट्रा सुपेरियर प्लेयर अफ द म्याच’ घोषित भए।

यामालले १८ वर्ष ३४३ दिनको उमेरमा विश्वकपमा गोल गर्दै प्रतियोगिताको इतिहासमा आठौँ कान्छा गोलकर्ता बन्ने कीर्तिमान पनि कायम गरेका छन्। उनी विश्वकपमा गोल गर्ने स्पेनका दोस्रो कान्छा खेलाडी बनेका छन्।