रौतहटमा बागमती नदीको बीचमा फसेका १४ जनाको सकुशल उद्धार
रौतहट, ७ असार । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा बागमती नदीको बीच भागमा फसेका तीन बालिकासहित १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
आइतबार अपराह्न मुमको दाल टिपेर घर फर्कने क्रममा अचानक नदीको बहाव बढेपछि उनीहरू बीचको अग्लो स्थान (टापु) मा फसेका थिए । उद्धारका लागि याचना गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालको टोलीले उनीहरूलाई फेला पारेको थियो ।
सशस्त्र प्रहरी बेसक्याम्प गौरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसागर विष्टका अनुसार घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर योञ्जनको नेतृत्वमा १७ जनाको विशेष टोली परिचालन गरिएको थियो । उक्त टोलीले रबरको डुङ्गा प्रयोग गरी ११ जना महिला र ३ जना बालिकाको सफल उद्धार गरेको हो ।
उद्धार गरिएका सबै स्थानीय बासिन्दालाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा उनीहरूको घरसम्म पुर्याएको डीएसपी विष्टले जानकारी दिनुभयो । वर्षायाम सुरु भएसँगै नदीहरूमा पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन समेत प्रहरीले आग्रह गरेको छ ।