हलेसी तुवाचुङ नगरपालिकाद्वारा तीन वर्षे उपलब्धि सार्वजनिक, पर्यटन प्रवर्द्धनमा विशेष जोड
खोटाङ, ७ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तीन वर्षे कार्यकालमा हासिल गरेका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन्। कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनीहरूले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा भएका प्रगतिबारे जानकारी दिँदै आगामी दिनमा पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइने बताएका छन्।
नगर प्रवक्ता कमल गिरीका अनुसार, नगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिँदै गत तीन वर्षमा ९२ किलोमिटर नयाँ सडक निर्माण गरेको छ। यसमध्ये २,५०० मिटर सडक ढलान र ५१२ किलोमिटर स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन योग्य बनाइएको छ। साथै, ११ वडामध्ये ८ वटामा पक्की वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेका छन् भने दुई वडामा निर्माण अन्तिम चरणमा पुगेको छ।
खानेपानी तथा सिँचाइतर्फ लोचाखोला, सहरबोटे मुहान, जुकेखोला लिफ्टिङ जस्ता आयोजना सञ्चालनमा आएका छन् भने बृहत् हलेसी लिफ्टिङ आयोजना निर्माण अन्तिम चरणमा छ। नगरभित्र पानीका मुहान रिचार्ज गर्न २३० वटा पोखरी निर्माण गरिएको छ। घोपाटार माझीगाउँ, दूधकोशी–हात्तीटार लगायत २१ वटा सिँचाइ आयोजना पनि सञ्चालनमा ल्याइएको छ।
शैक्षिक क्षेत्रमा, नगरभित्रका ९० विद्यालयमध्ये २६ वटामा नयाँ आरसिसी भवन निर्माण सम्पन्न भएका छन्। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षा लागू गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो। स्वास्थ्यतर्फ पाँच शय्याको नगर आधारभूत अस्पताल सञ्चालन, सबै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा, अस्पतालमा २४सै घण्टा सेवा, र गरिब, दलित तथा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ। १५ शय्याको नगर आधारभूत अस्पताल निर्माणलाई पनि तीव्रता दिइएको छ।
जीविकोपार्जन कार्यक्रम अन्तर्गत कृषकलाई १०० वटा भैँसी, बाख्रा तथा सुँगुरका पाठा वितरण, विभिन्न कृषि पकेट क्षेत्र घोषणा, ढाका कपडा तथा दुनाटपरी उद्योग सञ्चालन, र उद्यम गर्न चाहनेलाई ब्याज अनुदान जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ।
पर्यटन प्रवर्द्धनतर्फ हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम, बुङालुङ पार्क, मञ्जुश्री गुफा लगायत २६ वटा धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति, होमस्टे सञ्चालन र पर्यटक गाइड उत्पादन जस्ता काम भएका छन्।
सुशासनका क्षेत्रमा अधिकांश मुद्दा मेलमिलापको माध्यमबाट समाधान गरिएको न्यायिक समितिका संयोजक तथा नगरउपप्रमुख रमेश राउतले बताउनुभयो। उहाँले भन्नुभयो, “जघन्य किसिमका बाहेक अधिकांश मुद्दा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्ने अभ्यास गरिएको छ। यसमा दुवै पक्षको जित भएको महसुस हुन्छ।”
नगरप्रमुख विमला राईले निर्वाचन घोषणापत्र बमोजिम शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो। “अधिकांश आयोजना पूरा भइसकेका छन्,” उहाँले भन्नुभयो, “आगामी दिनको एउटै लक्ष्य भनेको पर्यटन विकास हुनेछ। नगरभित्र रहेका पर्यटकीय क्षेत्रको स्तरोन्नति गरिसकेका छौँ। यसलाई प्रवर्द्धन गरेर आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यसहित अघि बढेका छौँ।”
कार्यक्रमको उद्घाटन जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालले गर्नुभएको थियो। हलेसी तुवाचुङ नगरपालिका बेरुजु फछ्र्योटमा पनि जिल्लामा प्रथम, कोशी प्रदेशमा तेस्रो र देशभरमा दशौँ स्थानमा रहेको छ। महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार नगरपालिकामा शून्य दशमलव १५ प्रतिशत (रु २३ लाख ६७ हजार) मात्रै बेरुजु देखिएको छ।
