यःसिं नगर प्रवेशसँगै इन्द्रजात्राको औपचारिक सुरुआत
काठमाडौं, असोज ३ । काठमाडौं उपत्यकाको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको मुख्य तयारीअन्तर्गत आज बिहान इन्द्रध्वजको प्रतीक यःसिंलाई भोटाहिटीबाट हनुमानढोका दरबार क्षेत्रसम्म नगर प्रवेश गराइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतअनुसार बिहान ८ः०५ बजे बाजागाजासहित यःसिं नगर प्रवेश गराइएको हो। भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित नाला सामुदायिक वनबाट ल्याइएको सल्लाको रुखलाई इन्द्रध्वजको प्रतीकका रूपमा प्रयोग गरिन्छ।
इन्द्रजात्राको लिङ्गोका लागि भाद्र शुक्ल द्वितीयाका दिन वन यात्रा गरी रुख काट्ने परम्परा छ। रुख काट्नुअघि तरबार, खड्ग तथा रुखको पूजा गरी तान्त्रिक विधिबाट अनुष्ठान गर्ने परम्परा रहेको छ।
यःसिंलाई इन्द्रको प्रतीकका रूपमा लिइन्छ। यःसिं नगर प्रवेशसँगै इन्द्रजात्राका धार्मिक तथा सांस्कृतिक गतिविधि अघि बढ्ने गर्छन्। जात्राका क्रममा कुमारी, भैरव र गणेशको रथयात्रा, लाखे नाच तथा श्वेत भैरवको दर्शनलगायत कार्यक्रम सञ्चालन हुन्छन्।
यःसिं नगर प्रवेशका क्रममा स्थानीयवासी, श्रद्धालु तथा स्वदेशी–विदेशी पर्यटकको उल्लेख्य सहभागिता रहेको थियो। इन्द्रजात्राले काठमाडौं उपत्यकाको मौलिक नेवार संस्कृति, कला, परम्परा र धार्मिक आस्थालाई जीवन्त राख्दै आएको छ।
