कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

काठमाडौँ, असोज ३ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तह अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको छ । गत शैक्षिक सत्रको तुलनामा यस वर्ष विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीको सङ्ख्या बढेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार गत वर्ष एक हजार ५०८ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएकामा यस वर्ष एक हजार ६८७ जनाले परीक्षा दिएका छन् । विश्वविद्यालयले यस वर्ष देशका विभिन्न छ स्थानबाट एकैपटक प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

यसअघि काठमाडौँ, हेटौँडा र चितवनको रामपुरमा मात्र प्रवेश परीक्षा सञ्चालन हुँदै आएकोमा यस वर्ष इटहरी, जनकपुर र नेपालगञ्जमा समेत परीक्षा केन्द्र थप गरिएको हो । उपकुलपति कट्टेलका अनुसार रामपुरबाट ५६८, काठमाडौँबाट ७०६, हेटौँडाबाट ६५, इटहरीबाट १४५, जनकपुरबाट ९१ र नेपालगञ्जबाट ११२ जना प्रवेश परीक्षामा सहभागी भएका छन् ।

यस वर्ष प्रवेश परीक्षाका लागि एक हजार ८०१ जनाले आवेदन फाराम भरेका थिए । तीमध्ये ११४ जना परीक्षामा सहभागी नभएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका केन्द्रीय तथा आङ्गिक गरी नौ क्याम्पसमा एक हजार २५४ विद्यार्थी अध्ययन गर्न पाउने व्यवस्था छ । त्यसमध्ये केन्द्रीय तथा आङ्गिक क्याम्पसमा ८५४ र सम्बन्धनप्राप्त आठ निजी क्याम्पसमा ४०० विद्यार्थी अध्ययन गर्न सक्नेछन् । यसबाहेक १२ विदेशी विद्यार्थीसमेत भर्ना हुनेछन् । विदेशी विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था छैन ।

उपकुलपति कट्टेलले यस वर्ष प्रवेश परीक्षामा सहभागी विद्यार्थीको सङ्ख्या बढेकाले आङ्गिक तथा सम्बन्धनप्राप्त निजी क्याम्पसमा विद्यार्थीको चाप बढ्ने अपेक्षा गरिएको बताउनुभयो । गत वर्ष आठ आङ्गिक क्याम्पसमध्ये पाँचवटामा विद्यार्थी अभावका कारण नयाँ भर्ना हुन सकेको थिएन । विद्यार्थी अभावका कारण सम्बन्धनप्राप्त आठ निजी क्याम्पससमेत सञ्चालनमा आउन सकेका थिएनन् ।

विद्यार्थी सङ्ख्या पर्याप्त नभए आङ्गिक क्याम्पसलाई अनुसन्धान, नवप्रवर्तन तथा प्रसार केन्द्रका रूपमा विकास गर्ने विश्वविद्यालयको योजना रहेको उपकुलपति कट्टेलले बताउनुभयो । विद्यार्थी अपुग भए २१ दिनभित्र पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने तयारीसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

देशभरका क्याम्पसमार्फत प्रचारप्रसार विस्तार गर्नुका साथै विभिन्न छ स्थानमा प्रवेश परीक्षा सञ्चालन, पाठ्यक्रम परिमार्जन तथा शैक्षिक गुणस्तरमा सुधार गरिएकाले विद्यार्थीको आकर्षण बढेको उपकुलपति कट्टेलको भनाइ छ ।

विश्वविद्यालयमा कृषि, पशु चिकित्सा तथा पशुपालन, मत्स्य विज्ञान र वन विज्ञान विषयमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहको अध्ययन-अध्यापन हुँदै आएको छ ।

कृषि सङ्कायका डिन प्रा. डा. सुन्दर तिवारीका अनुसार यस वर्ष विदेशी विद्यार्थीका लागि पाँच आवेदन प्राप्त भएका छन् । आवेदन दिने विद्यार्थी भारत र बङ्गलादेशका रहेका छन् । परराष्ट्र मन्त्रालयमार्फत थप विदेशी विद्यार्थी आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

विश्वविद्यालयमा यस शैक्षिकसत्रदेखि तीन सङ्कायअन्तर्गत १२ विदेशी विद्यार्थी भर्ना हुनेछन् । तीमध्ये कृषि सङ्कायमा पाँच, पशु चिकित्सा तथा पशुपालनमा तीन, मत्स्य विज्ञानमा एक र वन विज्ञानमा तीन विद्यार्थी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *