दुई दिनको वृद्धिपछि नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने १० अर्ब नाघ्यो
काठमाडौं, ७ जेठ । लगातार दुई कारोबार दिनको उत्साहजनक वृद्धिपछि बुधबार शेयर बजार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा झरेको छ।
यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१७ अंक र फ्लोट इण्डेक्स ०.३३ अंकले घटेका छन् भने सेन्सेटिभ फ्लोट इण्डेक्समा सामान्य ०.०३ अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि भएको छ।
मंगलबार ७ अर्ब ३१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ वटा कम्पनीको ८८ हजार १२१ पटकको कारोबारमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ।
आज ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर प्रतिकित्ता ८४ रुपैयाँ ६० पैसाले बढेर ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ। यता, श्वेत गंगा हाइड्राेपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य आज सबैभन्दा धेरै ८.३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७१ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, माउन्टेन इनर्जी नेपालको ५९ करोडभन्दा बढी र ङादी ग्रुप पावरको करिब ५८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ वटाको परिसूचक बढेको छ भने १० वटाको घटेको छ।