शेयर बजारमा चौतर्फी गिरावट, बैंकिङ क्षेत्र सबैभन्दा बढी प्रभावित

काठमाडौं, २० जेठ । मंगलबार शेयर बजारका सम्पूर्ण सूचकहरू ओरालो लागेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५.७३ अंकले, अर्थात् १.३२ प्रतिशतले, घटेर २६५८.९३ विन्दुमा पुगेकाे छ।

बजारमा आएको यस गिरावटसँगै कारोबार रकममा पनि संकुचन आएको छ। अघिल्लो दिन ९ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज त्यो घटेर ६ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ३४ वटाको शेयरमूल्य बढेको छ भने २१४ वटाको मूल्यमा गिरावट आएको छ। सबै उपसमूहका सूचकहरू आज ऋणात्मक रहे, जसमा बैंकिङ उपसमूह सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ। उल्लेखनीय छ कि विगत दुई सातादेखि बजार बढ्दा यही उपसमूहले उच्च वृद्धि देखाएको थियो।

राजनीतिक अनिश्चितताका बीच लगानीकर्ताहरूले नाफा सुरक्षित गर्ने प्रवृत्ति (प्रोफिट बुकिंग) देखाउँदा आज बजार प्रभावित भएको विश्लेषण गरिएको छ।

अन्य उपसमूहहरूमा, विकास बैंक १.१४ प्रतिशत, वित्त कम्पनी ०.८३ प्रतिशत, होटल तथा पर्यटन २.१२ प्रतिशत, जलविद्युत् ०.९६ प्रतिशत, लगानी १.२९ प्रतिशत, जीवन बीमा ०.७ प्रतिशत, उत्पादनमूलक ०.०१ प्रतिशत, लघुवित्त १.२७ प्रतिशत, निर्जीवन बीमा ०.६८ प्रतिशत, अन्य ०.९८प्रतिशत तथा व्यापार समूह १.३७ प्रतिशतले घटेका छन्।

आज दुई कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, उपकार लघुवित्तको ५.५८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ३.० प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा बढी मूल्य घट्नेमा सप्तकोशी विकास बैंक रहेको छ, जसको शेयरमूल्य ४.३८ प्रतिशतले घटेको छ। बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, र लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा आज क्रमशः राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहे।