आज यी स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ६ असार । आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ भने केही प्रदेशमा भारी वर्षा र तराईका भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी, पश्चिमी तथा स्थानीय वायुका साथै भारतको पश्चिम बंगालमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय छ भने देशको पश्चिमी भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यी मौसमी प्रणालीहरुको संयुक्त प्रभावले आज दिनभर देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ।

शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यसैगरी, कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

आज राति पनि मौसममा सुधार हुने देखिँदैन। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका पहाडी भेगका केही र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ।

महाशाखाले भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *